दिल्लीमा प्रेमीले जब आफ्नै प्रेमीकाको हत्या गरि ३५ टुक्रा बनाए…

केन्द्रभाग मिडिया

भारत ।
भारतको राजधानी दिल्लीमा एक युवकले आफ्नै प्रेमीकाको निर्ममतापूर्वक हत्या गरेका छन् ।

प्रेमी अफताबले प्रेमीका श्रद्धाको हत्यापछि शवलाई ३५ टुक्रा बनाई फ्रिजमा राखेको र बिस्तारै थोरै थोरै गरेर जंगलमा फालेको खुल्न आएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रेमीका श्रद्धाको हत्या भएको ६ महिनापछि हत्याको खुलासा भएको हो । प्रहरीले आरोपी प्रेमी अफताबलाई पक्राउ गरेको छ । उनीसँगको केरकारबाट दिल्लीको एक जंगलबाट हड्डीका टुक्रा बरामद भएको दिल्ली पुलिसले जनाएको छ ।

भारतीय सञ्चार माध्यमको अनुसार आफताब र उनकी प्रेमिका श्रद्धा मुम्बईको एक एमएनसी नामक कम्पनीको कल सेन्टरमा काम गर्थे । अफिसमा दुवैबीच घनिष्ठता बढ्न थाल्यो । बिस्तारै दुबैको प्रेम भयो । त्यसपछि दुवैले लिभ इन रिलेशनशिपमा बस्न थाले । जब श्रद्धाको परिवारलाई यो कुरा थाहा भयो, उनीहरूले यसको विरोध गर्न थाले।

परिवारसँगको झगडापछि श्रद्धा आफताबसँग बस्न दिल्ली सरिन् । दिल्लीमा माउलीमा दुवै सँगै बस्न थाले । त्यसपछि श्रद्धाले आफताबलाई विवाहका लागि दबाब दिन थालिन् । आफताब विवाहबाट पछि हट्दै थिए। त्यसपछि दुवैबीच विवाहलाई लिएर झगडा सुरु भयो । एक दिन अफताबले आफ्नी प्रेमिकाको धारिलो हतियारले हत्या गरे ।

हत्यापछि शवलाई ३५ टुक्रामा काटेर फ्रिजमा राखे । लगातार १८ दिनसम्म आफताब राति दुई बजे उठेर शवका टुक्राहरू जंगलमा फाल्ने गर्थे । त्यसपछि आफताबले ठाउँ परिवर्तन गरे ।

धेरै दिनसम्म छोरीको कुनै खबर नपाएपछि ५९ वर्षीय विकास मदन वाकरले प्रहरीमा उजुरी दिएका थिए । मदन वाकरले मुम्बई छाडेपछि महरौलीको छतरपुर इलाकामा बस्ने थाहा भएको बताए । सामाजिक सञ्जालमा छोरीको ठेगाना थाहा पाइन्थ्यो तर जेठ महिनादेखि उनको बारेमा केही पत्ता लाग्न सकेको थिएन । उनको फोन नम्बरमा पनि सम्पर्क गर्ने प्रयास गरियो, तर त्यो पनि स्वीच अफ थियो ।

अप्रिय घटनाको आशंकामा मंसिर ८ गते सीधै छतरपुरमा छोरी भाडामा बसेको फ्ल्याटमा गए तर त्यहाँ पनि ताला झुण्डिएको अवस्थामा भेटे । त्यसपछि महरौली प्रहरी चौकी पुगेपछि प्रहरीलाई यस विषयमा जानकारी गराएर एफआइआर दर्ता गराएको थियो । अन्ततः प्रहरीले अफताबलाई पक्राउ गरी सम्पूर्ण मामिलाको पर्दाफास गरेको छ ।

  • २९ कार्तिक २०७९, मंगलवार ०९:३४ प्रकाशित