पोखरा ।
गण्डकीका ५ सय ५९ ओटा मतदान केन्द्र अतिसंवेदनशील मानिएका छन् ।गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश राजधानी पोखरामा आज (शुक्रबार) भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सो जानकारी गराइएको हो ।
२ हजार ३ सय ३९ मतदान केन्द्रमध्ये ५ सय ५९ ओटा अति संवेदनशील र ९ सय ४५ वटा संवेदनशील मानिएको छ भने ८ सय ३५ ओटा मतदान केन्द्र सामान्य छन् ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार प्रदेशमा नेपाल प्रहरीतर्फ ६ हजार ६ सय ८६ जना, म्यादी प्रहरी १२ हजार ४ सय ६४ जना, सशस्त्र प्रहरी बल ३ हजार २ सय ४३ जना खटिने छन् । यस्तै नेपाली सेना ४ हजार ५ सय १२ जना खटिने छन् ।
सुरक्षा निकायका अनुसार निर्वाचनका बेला ३ घेराको सुरक्षा व्यवस्था कायम गरिनेछ । पहिलो घेरामा नेपाल प्रहरी-म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाल सेना रहने छन् । आवश्यकता अनुसार केही ठाउँमा फेर बदल पनि हुन सक्ने सुरक्षा गोष्ठीमा जानकारी दिइयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जिल्लाका १ सय ५० ओटा मतदान स्थल रहेकोमा अति संवेदनशील ५० ओटा रहेको जानकारी दिए । ४० मतदानस्थल संवेदनशील र ५१ ओटा मतदानस्थल सामान्य रहेको केसीले बताए।














