पोखरा ।
कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट बाटो चक्ल्याउन पहल लिने प्रतिवद्धता गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक चाक्लो र सुविधानसम्पन्न नभई यो क्षेत्रको पर्यटन र जनजीवनमा उल्लेख्य परिवर्तन नआउने जनाएका छन् ।
यो सडकखण्ड साँघुरो हुँदा दोहोरो सवारी साधन आवागमनमा बाधा पुग्दै आएको छ । सोहि कारण सो सडकखण्डमा बारम्बार जाम हुने गरेको छ । खास गरेर विहान सूर्योदय हेर्न जाने समय र दिउँसो फर्किने समयमा ट्राफिक जाम हुँदा त्यस क्षेत्रबाट आवतजावत गर्ने स्थानिय तथा पर्यटकहरुले सास्ती भोग्ने गरेका छन् । उसो त साँघुरो सडकका कारण विपरित दिशाबाट आएको गाडीलाई बाटो छाड्दा दुर्घटना भएका घटना पनि प्रशस्त छन् ।
स्थानियको समस्यालाई मसिनो गरेर अवलोकन गरेका भण्डारीले सो समस्या समाधानका लागि सडक चक्ल्याउने योजना ल्याएका हुन् । प्रचण्डका सहपाठी भण्डारीको पहुँच माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसम्मै भएकाले पनि सो सडकखण्ड चक्ल्याउने महत्वकांक्षी योजना पूरा गर्न सकिने उनको दाबी छ ।
भण्डारीले आफ्नो विकासे एजेन्डामा विन्ध्यवासिनी–पोखरा बेंसी सडकखण्ड कालोपत्र गर्ने अर्को योजनाअघि सारेका छन् । उनले पोखरा महानगरपालिका वडा नम्बर १, २ र ३ का भित्री सडक कालोपत्रे गर्ने, बागलुङ बसपार्कको स्तरोन्नति गर्ने, हरिचोक–याम्दी खाफको बाटो चौडा बनाउने लगायतका एजेन्डा पनि अघि सारेका छन् ।
उम्मेदवार भण्डारीले माछापुच्छ्रे गाउँपालिकाको अस्ट्रेलियन क्याम्प हुँदै अन्नपूर्ण ७ मा रहेको कान्छी बराह मन्दिरसम्मको मोटर बाटो निर्माण गरेर अन्नपूर्ण–माछापुच्छ्रे लिंक रोड निर्माण गर्ने योजनाअघि सारेका छन् । साथै, उनले माछापुच्छ्रेको धम्पुस फेदी हुँदै डाँडाबाट अन्नपूर्ण ३ को मराउचेसम्म नयाँ बाटो खोल्ने अर्को महत्वपूर्ण योजनाअघि सारेका छन् ।
उम्मेदवार भण्डारीले मर्दिहिमाल ट्रेकिङ रुट (पदमार्ग) लाई व्यवस्थित गर्ने, वन, वातावरण कृषि र पशुपालन विकासमा जोड दिने, सामुदायिक वन विकाससम्बन्धी कार्यक्रम चलाउने एजेन्डा बोकेर चुनावी घरदैलो र कोणसभा गरिरहेका छन् ।
उनले अन्नपूर्ण संरक्षण क्षेत्रका कार्यक्रमलाई व्यवस्थित गर्ने अर्को महत्वपूर्ण योजना ल्याएका छन् । सो कार्यक्रम पछिल्लो क्रममा जनजीवनसँग नजोडिएको भन्दै आलोचना भईरहेका बेला उनले जनजीवनलाई जोड्ने गरी कार्यक्रम ल्याउनका लागि पहल गर्ने बताएका हुन् । उनले भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्दै संरक्षण र विकासलाई सन्तुलित ढंगले मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।













