पोखरा ।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रामजीप्रसाद बराल जीवनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार मिटरको रनवे बनाउन पहल गर्ने बताएका छन् ।
विहिबार पर्यटन व्यवसायीहरु सँगको छलफलमा उम्मेदवार बरालले गण्डकी प्रदेश र राजधानी पोखरा क्षेत्रको बृहत विकासको लागि कम्तिमा पनि विमानस्थलमा ३ हजार मिटरको रनवे आवश्यक हुने भएकोले त्यसको लागि आवश्यक पहल गर्ने बताएका हुन् ।
पर्यटन व्यवसायीहरुले पोखरामा नयाँ विमानस्थल निर्माण भएपछि पर्यटनको प्रर्वद्धन हुने विश्वासका साथ ठुलो लगानी गरे पनि हाल निर्माण भएको विमानस्थलबाट धेरै विदेशी पर्यटकहरु भित्राउन नसकिने बताएपछि गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका उमेदवार बरालले स्थानियको माग अनुसार रनवे विस्तार गर्ने प्रकृयामा सबैको साथ सहयोगको अपेक्षा भएको बताए ।
पोखरा विमानस्थलमा हालै निर्माण भएको २ हजार ५ सय मिटरको रनवेका आधारमा करिब ७५ सिटे हवाई जहाज आउने भएकोले कम्तिमा पनि २ सय सिट क्षमताको विमान तेश्रो मुलुकदेखि आउने वातावरण निर्माण गर्न सकेमात्र पोखरा क्षेत्रमा पर्यटनको विकास हुने नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए ।
फरक प्रंंगमा उमेदवार बरालले आजको एक नम्बरको समस्या भनेको काठमाण्डौं केन्द्रित एकात्मक सोच भएको दाबी गरे । त्यसलाई भत्काउन जरुरी भएको उमेदवार बरालले बताए । पहिलो कार्यकालमै एकात्मक सोच भत्काउन जरुरी भएको उल्लेख गर्दै उमेदवार बरालले पहिलो कार्यकालमै एकात्मक बादी र आफ्नो गुटको मात्र हित हुने सोच भएको नेतृत्व भएको कारण परिवर्तन गर्न नसकिएको उनको दाबी छ ।
संघ सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार आनाकाना गर्ने गरेको उनले गुनासो गरे । संविधानमा उल्लेख भएका कुरा संघ सरकारले लागु गर्न आनाकानी गर्दा प्रदेश सरकारहरु कमजोर अबस्थामा पुग्न थालेको उनको भनाई थियो । पर्यटनको विकासको लागि पहिलो आधार पूर्वाधार भएको बताएका उमेदवार बरालले पूर्वाधार व्यबस्थित ढंगले हुनु पर्नेमा अराजक ढंगले भएको जनाए । पर्यटन व्यवसायीहरुको हाल परेको पिर मर्काको बिषयमा छलफल गरी त्यसको निकास निकाल्नु पर्ने उमेदवार बरालले बताए ।
कार्यक्रममा गठबन्धनका साझा उमेदवार कास्की ३ (२) का प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा क्षेत्रमा सहासिक खेल पर्यटनको निकै सम्भावना भएकोले त्यसको प्रर्वद्धन गर्न सके यहाँको आर्थिक विकास हुने दाबी गरे । हिमाल आरोहण, क्यानोनिङ, कायकिङ, प्याराग्लाईडिङ, र्याफ्टिङ लगायतको सहासिक खेलबाट धेरै पर्यटन भित्राउन सकिने उनले जनाए । कास्की २ (१)का प्रदेश सभा सदस्यका प्रत्यासी विश्वप्रकाश लामिछानेले रामसार सुचिमा सूचिकृत भएका पोखराका तालहरुलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरी बृहत विकास गर्नु पर्ने बताए ।
पर्यटन व्यवसायी टिकाराम सापकोटा, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाली काँग्रेससका केन्द्रिय सदस्य एवं समितिका संयोजक गणेश भट्टराईले बैंक तथा वित्तीय सँस्थाबाट हाल व्यवसायीहरु चर्को व्याजको मागमा परेको गुनासो गर्दै गठबधन सरकारले त्यसको निकास दिन माग गरे ।
नेपाली काँग्रेस प्रचार प्रसार उपसमितिले विहिबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा प्रदेश सभाको समानुपातिक उमेदवार सरस्वती गुरुङ, कास्की ३ (२) माओबादी केन्द्रका प्रचार संयोजक त्रिभुवन पौडेल, कास्की ३ (२) काँग्रेसका प्रचार संयोजक राजबहादुर गुरुङ, महिला पर्यटन व्यवसायी संघका उपाध्यक्ष कमला गिरी, समितिका सदस्य संजय सिग्देल, सोम थापा लगायतले वोलेका थिए ।













