सरकारले बढायो धानको मूल्य, किसानको धान बिक्री नभए सरकारले नै खरिद गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले धानको मूल्य बढाएको छ ।कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य पोहोरको तुलनामा २१५ रुपैयाँ बढी हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको हो । जसअनुसार मध्यम धानको प्रतिक्विण्टल तीन हजार १२८ रूपैयाँ न्यूनतम् समर्थन मूल्य तोकिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । गत वर्षको तुलनामा मध्यम धानको मूल्य प्रतिक्विन्टल २६६ रुपैयाँ वृद्धि भएको छ । किसानले धान भित्र्याउन लागेको बेला सरकारले धानको मूल्य वृद्धि गर्दै समर्थन मूल्य तोकेको हो ।

सरकारले तोकेको न्यूनतम् मूल्यभन्दा कममा धान खरिद बिक्री गर्न पाइँदैन । किसानको धान बिक्री भएन भने सरकारले नै खरिद गर्ने व्यवस्था समेत गरेको छ । विगत तीन चार वर्षदेखि तोकेको मूल्यमा बिक्री नभएको धान सरकारले खरिद गर्ने गरेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद गर्ने गरेको छ ।

यसैगरी न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड रूपैयाँ बजेटको व्यवस्था गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम् समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने प्रवक्ता सञ्जेलले जानकारी गराए ।

  • २३ कार्तिक २०७९, बुधबार १६:५६ प्रकाशित