काँग्रेसलाई नयाँ उम्मेदवारी दर्ता गराउन आयोगले समय दिने

केन्द्रभाग मिडिया

विराटनगर ।

मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपनि निर्वाचन आयोगले निर्धारित समयमै निर्वाचन हुने जनाएको छ ।

यद्यपि आयोगले नयाँ उम्मेदवारी दर्ता गर्न नेपाली काँग्रेसलाई समय दिनेछ । उक्त समयमा काँग्रेसले नयाँ उम्मेदवारी दिने र अन्य दलका तर्फबाट यसअघि उम्मेदवार बनेकाहरुको कायम रहनेछन् ।

निर्वाचन आयोगको प्रदेश १ कार्यालय विराटनगरका प्रखुम लेवन काश्यप अधिकारीका अनुसार निर्वाचन निर्धारित मिति मंसिर ४ मै हुनेछ । प्रदेश निर्वाचन ऐनको दफा ३२ मा उम्मेदवारको मृत्यु भएमा के गर्ने भन्ने विषय उल्लेख छ ।

उक्त दफाको उपदफा ४ मा निर्वाचन कार्यक्रममा लेखिएबमोजिमको काम सम्पन्न गर्नुपर्ने अवधि पन्ध्र दिनभन्दा बढी भएमा पुनः अर्को कार्यक्रम प्रकाशन गर्नुपर्ने छैन । सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नुपर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गर्नुपर्नेछ भन्ने उल्लेख छ ।

यस्तै उपदफा ५ मा उपदफा ९१० बमोजिम निर्वाचन कार्यक्रम स्थति भएकोमा पहिलो मनोनयनपत्र पेश गरेको उम्मेदवारले पुनः मनोनयनपत्र दाखिला गर्नुपर्ने छैन र जुन दलको उम्मेदवारको मृत्यु भएको हो त्यस्तो दलको तर्फबाट मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिनेछ भन्ने उल्लेख छ । काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले नयाँ उम्मेदवारको विषयमा अहिले छलफल नहुने बताए ।

  • २३ कार्तिक २०७९, बुधबार १४:२० प्रकाशित