पोखरा ।
व्यवसायिक उडानको लागि तीव्र तयारी गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० अर्थात मङ्सिर १४ गते ‘क्यालिब्रेसन फ्लाइट’ (यान्त्रिक परीक्षण उडान) सञ्चालन हुने भएको छ ।
जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन हुने बताए ।
जनवरी १ देखि पोखरा विमानस्थल सञ्चालनमा आए पनि उडान सङ्ख्या तत्कालका लागि सीमित हुने महानिर्देशक अधिकारीले बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।
यान्त्रिक उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्राधिकरणले जनाएको छ । त्यसका लागि २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउनेछ ।
उक्त जहाजले यान्त्रिक उडानमार्फत् विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरेरनगरेको चेकजाँच गर्नेछ ।
एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार उक्त कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ ।