पोखरा ।
नेकपा माओवादी केन्द्रका नेता एवं कास्की–२ (१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने आफ्नो स्वर्गीय नेता रवीन्द्र अधिकारीसंग राम्रो सम्बन्ध रहेको स्मरण गरे । उनले रविन्द्र स्मृति पार्क र बिजय ढकाल स्मृति पार्क बनाउन पहल गर्ने बताए ।
उम्मेदवार लामिछानेले अन्तर जिल्ला जोड्ने सडक बनाउन पहल गर्ने, लिफ्टिङ् खानेपानी योजना प्रभावकारी रुपमा अघि बढाउने लगायतका योजना सुनाए । उनले विपन्न परिवारलाई जग्गा र आवास उपलब्ध गराउने र उक्त क्षेत्रको बादर आतंक हटाउने योजना अघि बढाउने प्रतिवद्धता जनाए ।
पोखरा महानगरको अनुभव हुने गरि सार्वजनिक संरचना बनाउन पहल गर्ने समेत उनले बताए । आफूहरुले मात्र निर्वाचनमा जित्नका लागि गठबन्धन नबनाएको भन्दै विकास र समृद्धिका लागि अगाडि बढेको धारणा राखे ।
कोणसभामा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य गुरु बरालले संविधान च्यातिने, लोकतन्त्रलाई धरापमा पार्ने काम तत्कालिन प्रधानमन्त्री ओलीले गरेपछि गठबन्धन बनेको र त्यो खतरा अझै रहेकाले जनता सचेत बन्नुपर्ने बताए । निर्मलपोखरीवासीले आफ्नो मतबाट गलत काम गर्नेलाई साथ नदिने उनले विश्वास प्रकट गरे ।
उक्त अवसरमा नेपाली कांग्रेसकोबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार वृन्दा राना र एकीकृत समाजवादीका समानुपातिक उम्मेदवार सारदा प्रसाद सुवेदी, एकीकृत समाजवादी समानुपातिक उम्मेदवार दिलु कुमारी पन्त र अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि बिजय राज आचार्य माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी महिला संगठन कास्की अध्यक्ष देवीमाया अधिकारी र एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य दताराम आचार्य लगायतले संविधान बचाउन काँग्रेस र कम्युनिस्ट एक भएको बताए ।













