धर्म बचाउन गीतालाई साक्षी राखि कसम खाएर आएको छु : राप्रपा उम्मेदवार गिरी

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले आफू जनताको चाहनाअनुरुपकै उम्मेदवार भएको बताएका छन् । अब युवाको पालो भनिरहँदा कतिपय युवाहरु पुरानै मानसिकता बोकेर चुनावमा होमिएको कुरा जनताले भुल्न नहुने उनले बताए । जनताले विश्वसनीय युवाको खोजी गरेको उल्लेख गर्दै गिरीले आफूले जनताको विश्वासलाई कहिल्यै घात नगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ११ मा पर्ने फूलबारी र रानीपौवा क्षेत्रमा आईतबार घरदैलो कार्यक्रम गरेका गिरीलाई त्यहाँका जनताले विशेष चासो दिएर आफ्ना प्रश्नहरु राखेका थिए । विशेषगरि मतदाताहरुले युवा मात्र नभई काम गर्न सक्ने युवालाई आफूहरुले मत दिने र त्यसका लागि उम्मेदवारले मन जित्न पर्ने बताएका थिए ।

जवाफमा गिरीले आफू जनताको चाहनाअनुरुप काम गर्नका लागि प्रतिबद्ध भएर लाग्ने वाचा गरे । साथै उनले धर्म बचाउन र जनताको काम गर्न आफूले गीतालाई साक्षी मानेर भ्रष्टाचार नगर्ने कसम खाएर राजनीतिमा लागेको बताए । ुहाम्रो पार्टी राप्रपा भ्रष्टाचारको मामलामा शून्य सहनशीलता भएको पार्टी हो । र, व्यक्तिगत रुपमा म पनि व्यवहारमा प्रस्ट व्यक्ति हुँ । मेरो यस अगाडिको ईतिहास खोतलेर हेर्ने हो भने पनि त्यसबारे प्रस्ट हुन सक्नुहुन्छ ।ु गिरीले भने (ुत्यसैले म हजुरहरुले चाहेजस्तै उम्मेदवार हुँ । मैले जित्दा हजुरहरुले नै जित्नुहुनेछ । म हजुरहरुको विश्वासलाई धोका हुन दिनेछैन ।ु

साथै राप्रपा उम्मेदवार गिरीले फूलबारी र रानीपौवा क्षेत्रको व्यवस्थित विकासका लागि काम गर्ने सवालमा सदैव तत्पर रहने वचन दिए । उनले विकास र सम्बृद्धिको नाममा मौलिकतालाई मास्ने काम गर्न नहुने बताउँदै फूलबारी र रानीपौवा क्षेत्रको विशेषताअनुसारको विकास आफ्नो प्राथमिकतामा पर्ने बताए ।

घरदैलोको क्रममा फूलबारी र रानीपौवा क्षेत्रमा हिँडिरहँदा मतदाताहरुले गिरीलाई सडक पुर्वाधारको व्यवस्थापनको विषयमा ध्यान दिन आग्रह गरेका थिए । त्यस्तै पछिल्लो समय हिन्दु धर्म मासिदै गएको र सँस्कृतिमा हस्तक्षेप बढ्दै गएको सवालमा मतदाताहरुले चिन्ता व्यक्त गरेका थिए । त्यो बाहेक महँगीका कारणले दैनिक जीवनमा परेको असर र राज्यको आर्थिक नीतिका कारण परेको संकटले समस्या बढ्दै गएको कुरा मतदाताहरुले गिरी समक्ष राखेका थिए ।

गिरीले घरदैलोको क्रममा मतदाताले दिएको सुझाव, गुनासो र सल्लाहलाई टिपोट गरि सो कुराहरुलाई सम्बोधन गर्ने नीति निर्माणको लागि आफ्नो पहल गर्ने बताएका छन् ।

  • २१ कार्तिक २०७९, सोमबार १०:०१ प्रकाशित