‘मालिक होईन जनताको सेवक भएर काम गर्नेछु : विद्या भट्टराई

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफु मालिक होइन जनताको सेवक भएर काम गर्ने बताएकी छन् ।

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ७ र ८ मा भएको घरदैलो कार्यक्रममा उनले आवश्यक नीति निर्माणसँगै समृद्धिको अभियानमा जुट्ने मतदातासँग प्रतिवद्धता व्यक्त गरिन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले समृद्ध नेपाल, सुखी नेपाली पार्टीको अर्जुन दृष्टि भएको उल्लेख गर्दै यस क्षेत्रका प्राकृतिक श्रोत साधनलाई समृद्धिको आधार बनाइने विश्वास व्यक्त गरिन् ।

पर्यटकीय नगरी पोखरा र आसपासको क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि एवम् भौतिक पूर्वाधारको निर्माणमार्फत रोजगारी सिर्जना गरि युवालाई स्वदेशी माटोमा रगत पसिना भिजाउन प्रेरित गरिने खालका योजना अघि सारिने उनको भनाई छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा कास्की निर्वाचन क्षेत्र नं. २(क) प्रदेश सभा सदस्यका उम्मेदवार भिमबहादुर कार्कीले जनताले दिएको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जनताको वलले परमादेशी गठवन्धनको सरकारलाई विस्तापित गरि जनमतको सरकार स्थापित गरिनेमा जोड दिदै उनले एमालेले राष्ट्र, राष्ट्रियता र जनभावनाको पक्षमा काम गर्दै आएको स्पष्ट पारे ।

घरदैलो कार्यक्रममा मुलुकमा व्याप्त रहेको अनियमितता, मुल्यवृद्धि, बढ्दो करका कारण जनता मर्कामा परेको र भविष्यका कर्णधार युवालाई स्वदेशमै रोजागरी सिर्जना गरि आयआर्जन गर्ने खालका योजना ल्याउन उम्मेदवारसँग मतदाताले आग्रह गरेका थिए ।

  • २१ कार्तिक २०७९, सोमबार ०९:४३ प्रकाशित