पोखरा ।
कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने स्पष्ट भिजनका साथ विकास गर्नका लागि आफू उम्मेदवार भएर जनताको माझमा आएको बताएका छन् ।
पोखरा २१ दम्सादीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उम्मेदवार लामिछानेले विगतमा यहाँबाट नेतृत्व गर्नेहरूले जनताको एजेन्डामा चासो नदिएको कारण राम्रो विकास हुन नसकेको दाबी गरे ।
‘हामी स्पष्ट भिजन सहितका जनताको भावना अनुरूपको योजना लिएर आएका छौँ । विगतमा जितेर गएकाहरूले जनताका एजेन्डामा चासो राखेनन् । यहाँका जनताको भावना बुझेनन् । त्यहिभएर यहाँको उचित विकास हुन सकेन । हामी यहाँहरू कै एजेन्डालाई बोकेर हिँडेका छौँ । हामीसँग स्पष्ट विकास निर्माणका योजना छन् । हामी गफ दिने होइन जे बोल्छौँ, त्यो गरेर देखाउँछौँ ।’ पोखरा महानगरमा गठबन्धनको नेतृत्व रहेको भन्दै उनले प्रदेश र केन्द्रमा समेत गठबन्धन कै सरकार हुँदा काम गर्न सजिलो हुने उनको धारणा छ ।
उनीहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । कास्कीको निर्वाचन क्षेत्र नं।२ को तर्फबाट चुनावी मैदानमा उत्रिएका गठबन्धनका साझा उमेदवारहरुले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।













