तनहुँको पीजनहिलमा जीपलाइन : आन्तरिक पर्यटकको भीड लाग्दै

केन्द्रभाग मिडिया

File photo

तनहुँ ।

तनहुँको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ ।

बिदाका दिन होस् या अन्य दिन जीपलाइनको मज्जा लिन विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।यही कात्तिक ३ गतेदेखि जीपलाइन सञ्चालनमा ल्याइएको सञ्चालक विवेक सापकोटाको भनाइ थियो । भारतको दिल्लीस्थित द एड्भेन्चर प्लान्टले एक करोड दश लाखको लागतमा ठेक्का सम्झौता गरी उक्त जीपलाइन निर्माण गरेको हो ।

उनले भनिन्– ‘करिब पाँच महिनाको अवधिमा सबै जडान कार्य सम्पन्न भएपछि जीपलाइन सञ्चालनमा ल्याइएको हो ।” जीपलाइन सञ्चालन भएदेखि हालसम्म दुईसय पचास जना साहसिक खेलमा सहभागी भइसकेको सञ्चालक सापकोटाले बताइन् ।

जीपलाइनमा एक हजार पाँच सय शुल्कमा खाजासेट र अन्य रमणीय दृश्यावलोकनसमेत हेर्न पाइने गरी व्यवस्था मिलाइएको छ । एक पटकमा एकै पटक दुई जनासम्मले खेलमा सहभागी हुन सक्ने छन् ।

सुरु स्टेशनबाट मादी नदीका साथै रमणीय डाँडा, फाँटको मनोरञ्जन लिँदै ल्याण्ड स्टेशन करिब ४५ सेकेन्डमा पार गर्न सकिन्छ । ल्याण्ड स्टेशनबाट पैदलमा करिब पाँच-सात मिनेटमा पुनः वारिको स्टेशनमा आउन सकिन्छ ।

  • २० कार्तिक २०७९, आईतवार १४:५० प्रकाशित