काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा टिक्न नसक्ने भएपछि गोरखा पुगेर उठेको आरोप लगाएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने प्रचण्डलाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने अध्यक्ष ओलीको तर्क छ ।
प्रचण्डले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसाहरा जीवन गुजार्नुपरेको उनको भनाई छ । ‘जो आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जान्छ, अब विदेशमा त्यस्ताका पछाडि लागेर संगठन बनाएर हुन्छ के ? त्यो भन्दा त बरु चुप लागेर सुति खेती गरेर खाए हुन्छ नि ।
विदेशमा जानु छ, प्रचण्डको संगठन बनाउनु छ। यो कुराबाट सचेत गराएर ती साथीभाइलाई उठाउने कसले ? त्यसबाट उन्मुक्ति दिने कसले ? यसको जिम्मा प्रवासी नेपाली मञ्चले लिनुपर्छ’ उनले भने ।













