गोरखा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जित संसारले देख्नुपर्ने बताए ।
मंसिर ४ गतेको चुनावपछि आफू प्रधानमन्त्री र कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री हुने सम्भावना रहेको दाबी गर्दै दाहालले गोरखाको जित संसारले देख्नुपर्ने बताएका हुन् ।
गोरखाको याङकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखा २ बाट उम्मेदवार दिएका सबै आ–आफ्नो ठाउँबाट नेतृत्वमा पुग्ने अवस्था रहेको दाबी गरे ।
‘गोरखाको जित संसारले देख्नुपर्छ । गोरखा त्यसैपनि संसार भर देखिन्छ पनि सुनिन्छ पनि । गोरखामा राम्रोसँग मतदान गरियौ भने एक ढिक्का भएर अगाडि बढ्यौ भने त्यो मतदानले एउटा शक्ति प्रधान गर्नेछ । उर्जा प्राप्त भएमा सुरेन्द्रराज पाण्डे प्रदेशको सदस्य मात्रै हुनुहुन्न । उहाँ प्रदेशको मुख्यमन्त्री हुने पुरै सम्भावना छ । फणिन्द्र देवकोटा प्रदेशको मन्त्री हुने पुरै सम्भावना छ’ प्रचण्डले भने, ‘मलाई देशको नेतृत्व लिने सम्भावना छ । तपाईहरुले हामीलाई बलियो बनाएर पठाउनुभयो भने सिंहदरबार र प्रदेशमा बलियो हुने अवस्था छ ।’
गोरखाबाट गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएमा विकास र समृद्धिको यात्रा तिव्र गतिले अगाडि बढ्ने प्रचण्डले विश्वास व्यक्त गरे ।













