काठमाडौं ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज जनतासँग वाचापत्र सार्वजनिक गरेको छ ।
आसन्न मंसिर ४ को चुनावलाई ध्यान दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले २३ वटा वाचासहितको घोषणापत्र सार्वजनिक गरेको हो ।कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष रवि लामिछानेले वाचापत्र सार्वजनिक गर्दै गरिबलाई रासन कार्ड प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
हरेक वडामा खाद्य केन्द्र, गरिबको लागि रासन कार्ड र मानव बेचबिखन, घरेलु हिंसा, एसिड आक्रमणबाट पीडितका लागि ५ अर्बको ‘करुणा कोष’ स्थापना गर्ने स्वतन्त्र पार्टीको घोषणापत्रमा उल्लेख छ ।
स्वास्थ्यको एजेण्डा अघि सार्दै उक्त पार्टीले पहिलो चरणमा ३५ हवाई र ७५३ सडक एम्बुलेन्ससहित राष्ट्रिय एम्बुलेन्स सेवा लागू गराउने प्रतिबद्धता जनाएको छ । ५ लाख टन उत्पादन क्षमताको रासायनिक मल कारखाना स्थापनादेखि ‘एक क्षेत्र, एक बाली, किसानको जीवनमा खुशीयाली’ नारा समेटेर कृषिका एजेण्डा अघि ल्याएको छ
‘वाचा पत्र’ नाम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले विगत ५ वर्षको समीक्षा गर्दै आगामी ५ वर्ष आफ्नो पार्टीले गर्ने कामको फेहरिस्त प्रस्तुत गरेको छ । लोकतन्त्रको बलियो आधार निर्माणका लागि अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थासहित निर्वाचन प्रक्रियामा सुधार खोजेको छ ।
त्यस्तै झन्झटरहित सरकारी सेवाका लागि प्रभावकारी र पारदर्शी सरकार सञ्चालन, लैंगिक विभेदको अन्त्यको वाचा पनि उक्त पार्टीले गरेको छ । रविले वाचा पत्रमार्फत् भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुने कबुल गरेका छन् ।
बाचापत्रमा स्वतन्त्र पार्टीले ३१ वर्षको नेपालका लागि १६ परिकल्पना प्रस्तुत गरेको छ ।













