पर्वत ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी परिणाम आफ्नो पक्षम पार्नका लागि नेकपा एमाले पर्वतले अभियानलाई तीब्रता दिएको छ ।
नेकपा एमालेवाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुको चुनावी प्रचार प्रसार अभियान आज जलजला गाउँपालिकाको वडा नं. ८ नाङलीवाङ र वडा नं. ७ धाईरिङमा सम्पन्न भएको छ ।
धाईरिङका केरावारी, मिलनचोक, बास्कोट, घाखेत, धारापानी, सल्यान लगायतका ठाउँमा घरदैलो तथा कोणसभा गरिएको छ भने नागलीङवाङको लस्ती र फर्सेमा भेटघाटभएको छ । स्थानीयले मुख्यगरी सडक पूर्वाधारलाई नै जोड दिएका छन् । मिलनचोक–सल्यान–घाखेत सडक लामो समयदेखि अलपत्र परेको भन्दै उक्त सडक समयमै सम्पन्न गर्नका लागि पहल गर्न माग गरेका छन् ।
नेकपा एमाले नेतृत्वको प्रदेश सरकारका वेला योजना परेर काम शुरु भएको र विचमा सरकार फेरिएपछि अलपत्र बनेको भन्दै एमालेले नै यसको अगुवाई गर्नुपर्ने भन्दै एमाले उम्मेदवारले त्यसका लागि मत मागेका थिए । । त्यस्तै खानेपानी, शाखा सडकहरु, स्वास्थ्य क्षेत्रका समस्याहरु स्थानीयले राखेका थिए । मतदाताहरुलाई सम्वोधन गर्दै एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले अघिल्लो पाँच वर्षमा पर्वतको समग्र विकासका लागि काम शुरु भएको र कतिपय अधुरा रहेका कामलाई अवको पाँच वर्ष भित्रमा पुरा गरिने बताए ।
उनले मतदातावाट कुनै गुनासो नआउनेगरी काम गर्ने प्रतिवद्धता दोहो¥याउँदै एमाले सरकारले शुरु गरेको मिलनचोक–सल्यान–घाखेत सडक निर्वाचन लगत्तै पुर्णता दिन पहल गरिने बताए । नेकपा एमाले मात्रै विकास निर्माण र समृद्धिका लागि काम गर्ने पार्टी भएकाले अरु कसैको भ्रममा नपर्न उहाँले आग्रह समेत गरे । उहाले अहिले स्थानीयवासीले राखेका मागहरु एक एक गरी संकलन गरेको र निर्वाचन लगत्तै प्रदेश र संघीय सरकार वाट पुरा गर्ने प्रतिवद्धता जनाए । उनले विकास र समृद्धिका लागि एमालेलाई बिजयी गराउन आग्रह गरे । उनले एमालेले केहि गरेन भन्नेहरुलाई घरै अगाडिको पानीको धारा, सडक, विद्यालयका संरचना देखाउन चुनौती दिए ।
त्यसैगरी प्रदेश सभा सदस्यका उम्मेदवार भक्त कुँवरले बालबच्चा देखि बृद्धबृद्धासम्म रेखदेख गर्ने पार्टी नेकपा एमाले मत्रै भएको बताउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार र अन्य वर्गको सामाजिक सुरक्षाका लागि एमालेलाई बिजयी गराउनुपर्ने बताए । उनले एमालेको सरकार बनेपछि सामाजिक सुरक्षा भत्ता दोब्बर बनाईने उल्लेख गर्दै सवै श्रमिक वर्गको न्यूनतम ज्याला मसिक रु २५ हजार बनाउने घोषणा भएकाले पनि सवै वर्गको पार्टी एमालेमात्र भएको बताए ।













