मेयर आचार्यको एक्सन : अण्डरग्राउण्ड खाली गर्न नमान्नेको घरमा डोजर (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

घर बनाउँदा अण्डरग्राउण्ड पार्किङसहित बनाउने सर्त राखेर बनाएका तर उक्त अन्डरग्राउण्डलाई व्यवसायीक प्रयोजनमा लगाउने घरबेटी विरुद्ध पोखराका मेयर एक्सनमा उत्रिएका छन् ।

यस अगाडि अन्डरग्राउण्डलाई खाली गराएर पार्कीङकै लागि प्रयोग गर्न सूचना निकालेर आग्रह गरेका उनले घरबेटीले अटेर गरेपछि मंगलबार बिहान डोजरसहित पुगेर खाली गराएका हुन् । पहिलो दिन पोखरा–४ र ९ चिप्लेढुंगा, महेन्द्रपुललगायतका क्षेत्रमा खाली गराइएको छ । चिप्लेढुंगास्थित आरके बिल्डिङ, महेन्द्रपुलस्थित बिशाल बजारलगायतका बजारको अन्डरग्राउण्ड खाली गराउन मेयर आचार्यले डोजर लगाएका हुन् ।

चिप्लेढुंगास्थित बिगबजार र गरिमा विकास बैंक रहेको भवनमा पनि डोजर लिएर पुगेका आचार्यलाई घरधनी र व्यवसायीले आफैले हटाउन शुरु गरेको भन्दै केहि समय मागेपछि त्यत्तिकै फर्काएका थिए । तर उनले निश्चित समयमात्र दिन सकिने भन्दै भने’ ‘तपाईंलाई यो पूरै हटाउन कति समय लाग्छ ? २४ घण्टा ? ४८ घण्टा वा ७२ घण्टा ? धेरै दिन हामी दिन सक्दैनौं, रातारात हटाउने हो भने तपाईंलाई एक मौका भो ।’

अन्डरग्राउण्ड खाली गराउन डोजर चलाईएपनि सामान्य रुपमा भत्काएर फर्किएको छ । प्रवेश द्वारमा लेखिएको बजारको नाम रहेको साईनबोर्ड भत्काउनुका साथै प्रवेश क्षेत्रमा सामान्य डोजरले कोतरेर छाडिएको हो । अन्डरग्राउण्ड भित्र रहेका बजार र सामानहरु भने जस्ताकोतस्तै छाडिएका छन् ।

पटक/पटकको सूचनालाई अटेर गर्दै अन्डरग्राउण्ड पार्किङ नहटाएका ठाउँहरुमा महानगरले डोजर चलाएको हो । डोजर लिएर पुगेका मेयर आचार्यले घरधनी र व्यवसायीलाई पटक/पटक आग्रह गर्दापनि अटेर गरेकाले डोजर चलाउनु परेको जानकारी दिए । ‘पहिले पटक/पटक आग्रह गर्दापनि बेवास्ता गर्नुभयो, सायद पहिलेजस्तै अहिलेपनि केहि गर्दैन भन्ने सोंच्नुभयो होला क्यारे। तर अब त्यस्तो हुँदैन, हामी हाम्रो अभियान सफल बनाएरै छाड्छौं’ उनले भने ।

व्यवसायीले भने महानगरको अभियानमा आफूहरु बाधक नबन्ने बताए । महानगरपालिकाले पोखरामा जनघनत्व र सवारी साधनको चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अन्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्ने अभियान सञ्चालन गरेको हो । महानगरको सूचनापछि केहि व्यवसायीले अन्डरग्राउण्ड खाली गराईसकेका छन् भने केहिले अटेर गरेपछि डोजर चलाउन शुरु गरिएको हो ।

  • १५ कार्तिक २०७९, मंगलवार १५:३० प्रकाशित