काठमाडौं ।
नेकपा माओवादी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा अन्य पार्टीहरुले बाडेको आश्वासन जस्तै माओवादीले पनि विभिन्न आश्वासन दिएको छ ।
माओवादीले एकवर्ष भित्र गरिबीको रेखा मुनि रहेकाहरुको पहिचान गरि ‘राज्य सुरक्षा कार्ड’को व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । कार्ड प्राप्त गरेका घरपरिवारलाई आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क तथा अत्यावश्यकीय वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइने माओवादीको आश्वासन छ ।
स्थानीय तहसँगको समन्वयमा वन, नदी, ताल र नदीको तटीय क्षेत्र साथै अन्य सार्वजनिक,बाँझो जमिनमा कृषि तथा पशुपन्छीपालन व्यवसाय सञ्चालन गर्न विपन्न घरपरिवालाई दश वर्षसम्मको लागि निश्चित परिमाणको जमिन करार गरी उपयोग गर्न दिइने, गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाखसम्मको बिउ पुँजी बिना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने घोषणापत्रमा उल्लेख गरिएको छ ।
यस अनुसार सञ्चालित व्यवसायको बिमा गर्दा प्रिमियममा ९० प्रतिशत अनुदान दिने व्यवस्था गरिने जनाइएको छ ।ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब किसानहरूलाई सामूहिक प्रणालीमा नगदेबाली पशुपन्छीपालन तथा जडीबुटी खेती गर्न पूर्वाधार तथा कृषि आगतका लागि अनुदानको व्यवस्था गरिने बताइएको छ भने सहरी विपन्न नागरिकहरूलाई परियोजना धितोमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने भएको छ ।
यस्तै वास्तविक भूमिहीन सुकुम्बासीहरूलाई भूमिको लालपूर्जा र आवासको प्रबन्ध गरिने पनि माओवादीको घोषणापत्रमा उल्लेख छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ।
माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै आएको छ । त्यस्तै राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ।













