पोखरा ।
नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले जनताको आस्था हेरेर नभई उनीहरुको आवश्यकता हेरेर विकास गर्ने बताएका छन् । ड्याम साइडमा आइतबार निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताले कता भोट हाल्छन् भनेर नहेरीकन सबैको भावनाको कदर गर्दै विकास गर्ने प्रतिनिधि चाहिएको भन्दै त्यो प्रतिनिधि आफू बन्ने बताए । आफू पाँच दलीय गठबन्धन र जनताको उम्मेदवार भएकाले जनभावनालाई केन्द्रमा राख्ने उनको प्रष्टोक्ति छ । ‘हामी जनताको आस्थाको आधारमा होइन, उहाँहरुको अवश्यकताको आधारमा विकास गर्न चाहन्छौं ।
पाँच दलको तर्फबाट हामी मैदानमा आएका छौं । पाँच दलको सझा उम्मेदवार त हामी हुँदै हौं । हामी जनताको पनि साझा उम्मेदवार हौं । कसले कता भोट हाल्नुभयो भनेर पनि हामी भेदभाव गर्ने छैनौं । तपाईको अवश्यकता हेरेर खासगरी पोखरा र समग्र कास्कीको विकासको अगुवा भएर काम गर्छौं’ उनले भने ।
उम्मेदवार बरालले महानगर, प्रदेश र केन्द्र सरकारका बीचमा सन्तुलन कायम गर्दै जनताको आवश्यकता र प्रथमिकतालाई केन्द्रमा राखेर काम गर्ने उनले प्रतिवद्धता जनाए । ‘यहाँको महानगरपालिकाले घोषणा गरेको कामको प्रतिवता पुरा गर्न, प्रदेश सरकारले ल्याएका योजना पूर्वाधारका योजना पूर्ति गर्ने र यहाँको आवश्यकता अनूरुपको पूर्वाधार विकासमा मैले केन्द्रमा सिधै पहुँच पु¥याउने छु ।’ उनले भने, ‘केन्द्रीय राजनीति र स्रोतसाधनमा कास्की र पोखरावासीको पहुचलाई विकास र समृद्धिसंग जोड्ने कुरामा मेरो ध्यान केन्द्रित हुनेछ ।’
आफ्नो निर्वाचन क्षेत्रमा केही सुविधा पुगेको कोर सहरी क्षेत्र, महानगर घोषणा भएको तर पूर्वाधारका हिसावले धेरै पछडिएको क्षेत्र अनि कृषि र पर्यटनको हिसावले अत्यन्त सम्भवानायुक्त क्षेत्र रहेको उनले बताए । ति सबै क्षेत्रको समुचित विकासमा आफ्नो जोड रहने उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको समृद्धिको सपना पुरा गर्न आफूहरु मैदानमा आएको बताए । उनले आफू प्रदेश सांसद भइसकेपछि बिचैमा अर्को अवसर आएमा जनताको ऐजण्डालाई बीचबाटोमा अलपत्र पारेर नहिड्ने समेत प्रतिवद्धता जनाएका छन् ।
उक्त अवसरमा नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य राजकाजी गुरुङ, नेकपा एकीकृत समाजवादीका केन्द्र सदस्य एवंं समानुतिक उम्मेदवार रत्ना गुरुङ, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य टिकाराम पौडेल, नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, पाँच दलीय गठबन्धनका कास्की नेताहरु शिव आचार्य, रुद्ध गौतम, प्रविण पौडेल, डिआर भट्टराई र दिनेश आचार्य लगायतले उक्त अवसरमा सम्बोधन गरेका थिए ।













