काठमाडौं ।
आज प्रमुख तीन दलले घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र आज (सोमबार) सार्वजनिक गर्ने भएका हुन् ।
माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्नेछन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । उक्त पार्टीले दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
त्यसैगरी राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्दैछ । त्यसका लागि बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।नेपाली कांग्रेस शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ । एमालेले भने हालसम्म समय तय गरिसकेको छैन ।













