काठमाडौँ ।
नेकपा एमालेको तर्फबाट काठमाण्डौ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल र ५ क को प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले मतदातासँगको भेटघाट कार्यक्रमलाई तीब्रताका साथ निरन्तरता दिइरहेका छन् ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर २ स्थित मतदाता भेटघाटका क्रममा प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले विगतमा चुनाब हार्दा पनि र जित्दा पनि जनताको साथ नछोडेको भन्दै खुलेर प्रशंसा गरेका छन् । मतदाताले २०६४ र २०७० को निर्वाचनमा झिनो मतले पराजित भएका पोखरेलले आफूहरको साथ नछोडेको र २०७४ को निर्वाचन जितेपछि जनताको हरेक समस्या समाधानका लागि धेरै काम गरेको भन्दै खुशी व्यक्त गरेका हुन् ।
उनीहरुले नेता भनेको जस्तोसुकै अवस्थामा पनि मतदाताको साथमा रहनसक्ने हुनुपर्ने र त्यो गुण पोखरेलमा भएको बताएका छन् । मतदाताको प्रतिक्रिया सुनेपछि पोखरेलले वडा नम्बर २ एमालेका नेता स्व मनमोहन अधिकारी जन्मेको ठाउँ भएकाले पनि आफू यही क्षेत्रबाट उम्मेदवार बन्न पाउनु सौभाग्यको कुरा भएको बताए । साथै पोखरेलले २०३९ सालदेखि वडा नम्बर २ मा एमालेले पराजय बेहोर्नु नपरेको स्मरण गराए ।
पोखरेलले आफूसमक्ष जनताले मनमा लागेका कुरा निर्धक्कसँग बोल्न आग्रह गर्दै आफू जनताको सबैखाले कुरा सुन्न तयार रहको बताए । “रोग निको उपचार गर्न डाइग्नोसिन गर्नुपर्छ । डाइग्नोसिस भनेको रोगको आधा उपचार हो । अर्थात समस्या पहिचान गर्नु भनेकै समाधानको आधा प्रक्रिया हो । तसर्थ समस्या सुनाउन कन्जुस्याइ नगर्नुहोला ।” पोखरेलले भने ।
एमालेको वडा समितिले राखेका कार्यक्रममा सहभागि भएर जहिले पनि समस्या सुन्न र त्यसको समाधान गर्न तयार रहेको उनको भनाई छ । आफू र क्षेत्र नम्बर ५ क को प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवाल जुनसुकै बेला जनताको समस्या सुन्न तयार रहेको र विगतदेखि नै जनतासँग जनप्रतिनिधि नामको कार्यक्रम नै संचालन गरेर काम गर्दै आएको पोखरेलको भनाई छ ।
समाजमा राम्रा र नराम्रा सबैखाले मान्छे हुने र त्यही समाजमा राम्रा र नराम्रा पक्ष पनि हुने भएकाले नराम्रा पक्षलाई हटाउँदै लैजाने विषयमा आफूहरु प्रतिबद्ध रहेको पोखरलले बताए । पोखरेलले आफू निर्वाचित भएपछि गर्ने दुई वटा मुख्य कामको बारेमा पनि मतदातालाई स्पष्ट पारेका छन् ।
पोखरेलले नीति, योजना र बजेट निर्माणलाई पहिलो काम भनेका छन् भने आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणलाई दोस्रो कामको रुपमा स्पष्ट पारेका छन् ।
राष्ट्रिय हितको रक्षा, सुशासन र आर्थिक विकासका लागि एमालेको सरकारको विकल्प नभएको उनको दाबी छ । एमालेको विचार नै देशका लागि आवश्यक रहेकाले सूर्य चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।
एमालेका वरिष्ठ उपाध्यक्ष र पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो राजनीतिक उचाईका कारण पनि प्रतिद्धन्द्धीले अनावश्यक आरोप प्रत्यारोप लगाउन सक्ने भएकाले भ्रममा नपर्न आग्रह गरे । “मेरो उचाई हेरेर ममाथि ढुंगा प्रहार गर्न सक्छन् । त्यस्तो प्रहारको सामना गर्न सधैँ तयार छु । बरु मर्न तयार छु तर जनताको शीर झुक्ने कुनै काम गर्दिन ।” उनले भने ।
पोखरेलले प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले सबै क्षेत्रमा उम्मेदवार उठाएको तर कांग्रेसले ८४, माओवादीले ४३ र नेकपा एसले २० क्षेत्रमा मात्रै उम्मेदवार बनाएर पनि बहुमतको सरकार बनाउँछौँ भनेर भ्रम फैल्याएको बताए । बरु एमालेले नै बहुमत ल्याएर सरकार बनाउन सक्ने गरी उम्मेदवार खडा गरेको उनले स्पष्ट पारे ।
स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा एमालेको पपुरल भोट सबैभन्दा धेरै रहेकाले पनि एमाले पहिलो ठूलो दल बन्नेमा कुनै शंका नरहेको उनले बताए ।
पोखरेलले केपी ओली प्रधानमन्त्री हुँदा नेपालको सम्पूर्ण भूभाग समेटिएको चुच्चे नक्सा सार्वजनिक गरेको उल्लेख गर्दै राष्ट्रहितको काम गर्न र परिआए भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने क्षमता ओलीमा मात्रै भएको बताए । ओली प्रधानमन्त्री हुँदा नै कोशी राजमार्ग, कर्णाली राजमार्ग, एकै दिन ३ सय ९६ अस्पतालको शिलान्यास, स्वास्थ्य बीमाको काम, सामाजिक सुरक्षा कोषको काम लगायतका दीर्घकालिन महत्वका कामको सुरुवात भएको पोखरेलले स्मरण गराए ।













