हराउँदै देउसी भैलोको रौनक

केन्द्रभाग मिडिया

पोखरा ।
फूलैफूलको पर्व भनेर चिनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारले सबैतिर छाइसकेको छ । तिहारलाई रमाइलो पर्वको रुपमा पनि लिने गरिन्छ । हरेक घरमा देउसी भैलो खेल्दै नाचगान गरिने भएकाले रोचक पनि हुन्छ । तिहारको रौनक भनेको नै देउसी भैलो र विभिन्न जनावरको पूजालगायत भाइटीका नै हो । तिहारका ५ दिन नै अलग–अलग पूजा गरिने हुँदा सबै दिनको विशेष महत्व छ ।

अझ देउसी भैलोको रमाइलो त धेरै नै छ । लक्ष्मीपूजाको दिन साँझमा घर–घरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई भैलो भनिन्छ । भैलो महिलाले गाउँछन्, विशेषगरी साना नानी र किशोरीहरू भैली खेल्न जाने गर्दछन् । त्यसको भोलिपल्ट भने देउसी खेलिन्छ ।

गोवर्द्धन पूजाका दिन पुरुषहरूले देउसी खेल्ने परम्परा छ । कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्ने गर्दछ ।

तर पछिल्लो समय सहरदेखि गाउँसम्म देउसी भैलोको रौनक हराउँदै गएको गएको छ । तिहारका अवसरमा खेलिने देउसी–भैलोले नेपाली संस्कृतिमा विशेष महत्व राख्छ । पहिले–पहिले देउसी खेल्दा परम्परागत वेशभूषा दौरा–सुरुवाल, गुन्यू–चोली लगाइन्थ्यो तर हिजोआजको देउसी भैलोमा यस्ता पहिरन देखिंदैनन् । दाजुभाइ र दिदी–बहिनीबीचको मिलनको पर्व रूपमा लिइने यो पर्वमा मादल खैजडी मुजुरा आदि परम्परागत बाजा बजाई देउसी भैलो खेल्ने परम्परा रहेकोमा आजभोलि हिन्दी तथा अंग्रेजी गीतको बाहुल्यता देखिन थालेको छ ।

  • ९ कार्तिक २०७९, बुधबार १५:०१ प्रकाशित