पोखरा ।
नेपालीहरुको महान चाड दीपावली सुरु भएसँगै पोखराको तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै पोखराका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो । पोखराको महेन्द्रपुल र चिप्लेढुङगा आसपासमा ग्राहकको ठुलो भिडभाड छ । न्यूरोड, पृथ्वीचोक, सृजनाचोक लगायतका अन्य शाखा बजारमा पनि ग्राहको भिड लागेको छ ।

विशेष गरी चिप्लेढुङगाको फुटपाथमा उल्लेख्य मात्रामा मानिसहरुको चाप देख्न सकिन्छ । फुटपाथमा मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ । मखमली र सयपत्री फूल विक्रीका लागि राखिएको छ । तिहारको रमझमले बजार आकर्षक देखिन्छ ।

भित्री शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ । मखमली र सयपत्री फूलले बजार ढाकिएका देख्न सकिन्छ । बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ ।

तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।

विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु बढी भीड भएको हो । भने जाडो सुरु भएकाले तिहारको सामान सगै लताकपडा, फलफुल र तरकारीको विक्री पनि बढेको व्यवसायी बताउछन् ।
















