निर्वाचन आयोगले मन्त्री चौधरीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

केन्द्रभाग मिडिया

निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत दाङको थारु बस्तीमा बाढी पीडितका नाममा राहतअन्तर्गत चामल बाँडेको भन्दै आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचन आचारसंहिता २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार के छ ?’, भनी आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा बाढी पीडितको नाममा चामल बाँड्दा आयोगको पूर्वसहमति लिनुभएको छ कि छैन भनेर पनि आयोगले सोधेको छ । ‘विपदको अवस्थामा राहत वितरणसम्बन्धी काम गर्दा नेपाल सरकारको मन्त्री नै जानुपर्ने कुनै कानुनी बाध्यता थियो, थिएन ?’ भन्ने प्रश्न गर्दै यस विषयमा २४ घण्टाभित्र स्पष्ट जवाफसहित स्पष्टीकरण पेस गर्न आयोगले मन्त्री चौधरीलाई निर्देशन दिएको छ ।

  • ३० आश्विन २०७९, आईतवार १७:३० प्रकाशित