पोखरा ।
पोखरा महानगरपालिका वडा नं –१५ को वडा स्तरीय बृहत् सरसफाइ कार्यक्रमको तेस्रो शृङ्खला सम्पन्न भएको छ।
‘हाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिक बस्ने वडा’ भन्ने मुख्य अभियानका वडा नं –१५ ले सुरु गरेको बृहत् सरसफाइ कार्यक्रम वडा कार्यालय परिसर लक्ष्मी टोल, रामबजारहुँदै बिरेन्द्रचोकमा पुगेर सम्पन्न भएको हो ।
सरसफाइ कार्यक्रमको समापन गर्दै पोखरा –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले १५ नं वडाको महाअभियानमा साथ दिने सबैलाई धन्यवाद दिए।
उनले सरसफाइ शृङ्खला निरन्तर चलिरहने भन्दै जुन स्थानमा सरसफाइ कार्यक्रम सञ्चालन हुन्छ, सोही स्थानका टोल विकास संस्था तथा आमा समूहहरूले अपनत्व लिन सके सरसफाइ कार्यक्रम प्रभावकारी हुने बताए। साथै आगामी शृङ्खलामा पनि वडावासीको सक्रिय सहभागिता रहनेमा उनले विश्वास व्यक्त गरे।
आजको सरसफाइ कार्यक्रममा लक्ष्मी टोल आमा समूह, ग्लो संस्था, डिभाइन यूथ क्लब, स्थानीय समाजसेवी, पूर्व वडाध्यक्ष तथा पोखरा –१५ का कर्मचारी लगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।














