काठमाडौं ।
आज नेपाली कांग्रेसले पनि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रारम्भिक घोषणापत्रको मस्यौदा सार्वजनिक गरेको छ । कांग्रेसले आर्थिक क्रियाकलापलाई एकीकृत रुपमा परिचालन गर्ने गरी घोषणापत्रमा समावेश गरेको प्रारम्भिक मस्यौदा उपसमितिका संयोजक स्वर्णीम वाग्लेले जानकारी दिए ।
कांग्रेसको घोषणापत्र संशोधनसहित कार्यसम्पादन समितिबाट पनि पारित भएको छ । कांग्रेसले तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारका गतिविधिलाई मुख्य चुनावी मुद्दा बनाएको सहमहामन्त्री जीवन परियारले बताए ।
घोषणापत्रमा आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र समेटिएको पनि सहमहामन्त्री परियारले बताए । घोषणापत्रको पहिलो खण्डमा राजनीतिक मुद्दाबारे धारणा रहेको छ । त्यस्तै दोस्रो खण्डमा ५ वर्षको मार्गचित्र समुन्नत नेपाल कसरी बनाउने भन्ने एजेन्डा समावेश भएको छ । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।
महामन्त्री शर्माले घोषणापत्र लेखनमा नेपाली समाजको प्रतिनिधित्व झल्किने गरी विज्ञ समूह तयार गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेस नेता गोविन्दराज पोखरेलले विगतमा घोषणा गरेका तर लागू नभएका विषयहरुलाई यस घोषणापत्रले समेट्ने बताए ।
आगामी निर्वाचनका लागि अन्य दलहरुले पनि घोषणापत्र तयार पारिरहेका छन् ।













