९ औं राष्ट्रिय खेलकुदको उद्घाटन आज, ६१५७ खेलाडीको प्रतिस्पर्धा

केन्द्रभाग मिडिया

पोखरा रंगशाला फाइल तस्बिर

पोखरा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरा रंगशालामा उद्घाटन हुँदैछ । प्रतियोगिताको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । राष्ट्रपतिको अस्वस्थताका कारण उपराष्ट्रपतिबाट उद्घाटन गरिने राष्ट्रिय खेलुकद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि सहभागी रहनेछन् । खेलकुदमन्त्रीबाट झन्डोत्तोलन हुनेछ ।

सागका पूर्वस्वर्णधारी म्याराधन धावक टीका बोगटीको नेतृत्वमा ओलम्पियन टिमले ओलम्पिक ज्योति प्रज्वलन गर्ने छ ।

उद्घाटनका अवसरमा सहभागी ११ टिमको मार्चपास र ट्रफि टुरका सद्भावना दूतहरुको मार्चपास हुनेछ । त्यसबाहेक संयुक्त ब्यान्ड डिस्प्ले, सात प्रदेश झल्कने नृत्य, नेपाली सेनाको समन्वयमा राष्ट्रिय सेवा दलबाट खुकुरी ड्रिल प्रदर्शन तथा हुड्केली नाच, राष्ट्रिय कलाकारबाट गीत प्रस्तुति गरिनेछ भने आतिसबाजी पनि गरिनेछ ।

प्रतियोगितामा सात प्रदेश, विभागीय टिम (सेना, पुलिस र आर्मी) तथा एनआरएनएका गरी ६ हजार हजारभन्दा बढी खेलाडीले ३६ खेल र दुई प्रदर्शनी खेलमा सहभागिता जनाउने छन् ।

गण्डकी अञ्चलका पोखराबाहेक स्याङजाको वालिङ, पर्वत, बाग्लुङ, म्याग्दी, गोरखा र तनहुँमा विभिन्न खेलको प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, ह्यान्डबल, फेन्सिङका खेल पोखरा रंगशाला हातामा भइरहेका छन् । उद्घाटनका लागी उपराष्ट्रपति नन्दबहादुर पुन पोखरा आइसकेका छन् ।

३६ खेलाका विभिन्न इभेन्टमा ६१५७ खेलाडीे प्रतिस्पर्धा गर्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि देशभरबाट ६ हजार १५७ जना खेलाडीले सहगागिता जनाउने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् । ३६ खेलमा यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए। प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन्।

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव घिसिङले जानकारी दिए। उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ। त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ।

औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन्। हालसम्म बागमती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक स्वर्ण, तीन रजत र छ कास्य प्राप्त गरेको छ।
त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नं १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ। प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय रहेको बताइएको छ।

कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ सालमा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको काउन्डाउन आज सकिएको छ। यसअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो।

महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो। पछिल्लो समय स्थानीय निर्वाचनका कारण पनि खेलको मिति पुनः सरेको थियो।

विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको छ । खेलकुदको उद्घाटन हुने दिन आज बिहानैदेखि पोखराको मौसम खुलेको छ ।

  • २८ आश्विन २०७९, शुक्रबार ०८:४१ प्रकाशित