कास्की ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखि हक्कीका खेल सुरु हुँदैछ ।
पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल मैदान व्यवस्थापन गर्नेलगायत काम सम्पन्न भएको नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।
गए राति अबेरसम्म मैदानको घाँस काटिएको थियो । उनले हतार हतारमा व्यवस्थापन गरिएका यस्ता पूर्वाधारका कारण खेलाडीलाई चोटपटकको चुनौती रहेको गुनासो गरे ।
समयमा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा समस्या भएको उल्लेख गर्दै खड्काले स्थानीय निकाय, खेल व्यवस्थापकलगायत सम्बन्धित निकायबीच समन्वय नभएको बताए ।
भौतिक पूर्वाधार पर्याप्त नहुँदा हक्की प्रतियोगिता प्रदेश बाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकाले चुनौतीका बाबजुद पनि कास्कीमै गराउन लागेको खड्काको भनाइ छ ।
हक्कीमा पुरुषतर्फ नौ तथा महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गर्दै छन् ।