नाफामा नेपाल आयल निगम, मारमा उपभोक्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

लामो समयदेखि घाटा बेहोरिरहेको नेपाल आयल अन्तत नाफामा गएको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायको अनुसार निगम करिब डेढ वर्षपछि नाफामा गएको हो ।

उपाध्यायको अनुसार अहिले निगम १ अर्ब १४ करोड नाफामा रहेको छ ।आयल निगमको अनुसार निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई पुरानो १६ अर्ब र पछिल्लो समयको २४ अर्ब गरी ४० अर्ब बक्यौता तिर्न बाँकी छ । नेपाल सरकारले उपलब्ध गराएको ७ अर्ब र निगमको जग्गा राखेर लिएको ३ अर्बको व्याज तिर्न वार्षिक १ अर्ब ६५ करोड लाग्ने छ ।

निगमका अनुसार अहिले हवाई इन्धनमा प्रतिलिटर ५१ रुपैयाँ फाइदा छ । पेट्रोलमा १६ रुपैयाँ, डिजेलमा ९ रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर ३८ रुपैयाँ निगमलाई नाफा रहेको छ ।

त्यस्तै निगमलाई खाना पकाउने एलपीजी ग्यासमा भने प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटा रहेको छ । ग्यासबाहेकका सबै पेट्रोलियम पदार्थमा नाफा रहेको छ । अहिले पेट्रोलियम पदार्थमा निगमलाई प्रतिलिटर ५१ रुपैयाँसम्म फाइदा भइरहेको छ ।

विश्व बजारमा नै तेलको मूल्य घट्दा पनि निगमले मूल्य नघटाउँदा उपभोक्ता भने मारमा परेका छन् । सर्वसाधरण उपभोक्ताले भने महँगोमा पेट्रोलियम पदार्थ प्रयोग गर्न बाध्य छन् ।

  • २४ आश्विन २०७९, सोमबार १६:१९ प्रकाशित