जो कोहीमा पनि हुनसक्छ मानसिक रोग, उपचार सम्भव छ (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
‘सबैका निम्ति मानसिक स्वास्थ्य र तन्दुरुस्तीलाई विश्व व्ययापी प्राथमिकता बनाऔं’ भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन १९९२ देखि हरेक वर्षको  १० अक्टुबरलाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी सस्थाले जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन सकेका छैनन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यारत वरिष्ठ मनोरोग विशेषज्ञ डा. राजन शर्मा जुनसुकै मानिसमा पनि कुनै न कुनै प्रकारको मानसिक समस्या हुन सक्ने बताउँछन् । मानसिक रोगको उपचार सम्भव रहेको र उपचार गरे ९९ प्रतिशत रोगीलाई निको पार्न सकिने उनले जानकारी दिए ।

  • २४ आश्विन २०७९, सोमबार ११:२५ प्रकाशित