पोखरा ।
नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाललाई सत्ता गठबन्धनले सहयोग गर्ने भएको छ । उनले गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । स्वतन्त्र वाम उम्मेदवारका रुपमा आफू चुनाव लड्ने उनले बताए।
रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट गरेर भुसालले चुनाव लड्न कुनै दलको चिह्न नलिने जानकारी दिएका हुन् ।
भुसालले पार्टी छाडेको घोषणा गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई आफ्नो पार्टीको चुनाव चिह्नमा चुनाव लड्न आग्रह गरेका थिए। तर आफू स्वतन्त्र बन्ने कुरा प्रचण्डलाई भनेको उनले जानकारी दिए । उनले आफूले चुनाव जिते पनि स्वतन्त्र नै रहने र कुनै दलको सदस्यता नलिने दाबी गरे।












