कास्की-२ मा गठबन्धनबाट बराल र एमालेबाट भट्टराईले प्रतिस्पर्धा गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बराल र नेकपा एमालेका केन्द्रीय सदस्य विद्या भट्टराई बीच प्रतिस्पर्धा हुनेभएको छ । गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेको उक्त क्षेत्रमा एकीकृत समाजवादीले बराललाई उठाउने निर्णय गरेको हो ।

एमालेले क्षेत्र नम्बर दुईमा भट्टराईलाई उठाउने निर्णय गरेको हो । भट्टराई उक्त क्षेत्रबाट निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् भने बराल एमालेमा हुँदा अवसर नपाएका नेताको रुपमा चिनिन्छन् । विगतमा एमाले नेता रवीन्द्र अधिकारी निर्वाचन लढ्दै आएको क्षेत्र नम्बर २ मा अधिकारीको निधन पछि उनकी जीवन संगिनी समेत रहेकी भट्टराईले उपनिर्वाचनमा तत्कालिन नेकपाबाट प्रतिनिधिसभामा निर्वाीचत भएकी हुन् । यस अगाडि उनी प्रध्यापन पेशामा थिइन् ।

विगतमा जिल्ला विकास समितिको उपसभापति भएर काम गरेका बराल तत्कालिन नेकपाको केन्द्रीय समिति सदस्य थिए । एमालेमा माधव नेपाल निकट भएकै कारण अवसर नपाएका बराल एमाले विभाजनसंगै माधव नेपालले गठन गरेको एकीकृत समाजवादीमा लागेका नेता हुन् ।

एमाले उम्मेदवार बन्ने बौद्धिक नेतृको रुपमा चिनिने भट्टराई र इमान्दार छवी बनाएका गठबन्धनका साझा उम्मेदवार बन्ने बराल बीच हुने प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

 

 

  • २२ आश्विन २०७९, शनिबार १७:०८ प्रकाशित