कांग्रेसले यस वर्ष चियापान नगर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको चियापान यस वर्ष नहुने भएको छ।

हरेक वर्ष गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यसपटक नगरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्।

वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले उक्त कार्यक्रम नगरिने पौडेलले बताएका छन्।

  • २१ आश्विन २०७९, शुक्रबार १४:०८ प्रकाशित