गठबन्धनको बैठक निस्कर्ष बिहिन, बुधबार पनि बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक सहमति बिना नै टुंगिएको छ ।

आजको बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रुप दिने विश्वास गरिए पनि ठोस सहमति हुन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको बताउँदै उनले केही क्षेत्रहरुमा मात्र सहमति हुन बाँकी रहेका बताए ।

आजको बैठकलाई निष्कर्षमा पुर्‍याउन आज बिहान दलहरूका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उम्मेदवारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता थियो । बैठक भोलि (बुधबार) फेरि बस्ने पौडेलले बताए ।

  • १८ आश्विन २०७९, मंगलवार २२:१९ प्रकाशित