एमाले-राजावादी गठबन्धन व्यवस्था माथिको चुनौती : महासचिव गुरुङ

केन्द्रभाग मिडिया

 

पोखरा ।
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एथास्थितिमा रहने चिन्तनबाट पनि पछाडि फर्केको एमाले र परिवर्तनको विपक्षमा रहेका शक्तिको तालमेल पछिल्लो परिवर्तनका लागि खतरा राहेको बताएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महासचिव गुरुङले दुई/दुई पटक संसदको विघटन, ६ महिना भन्दा बढी समय संसदमा गरिएको अबरोधका कारण एमाले यथास्थितिवाद बाट पनि पछाडी फर्केको पुष्टि भएको धारणा राखे । त्यसैगरी पछिल्लो परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोधीको रुपमा रहेका राप्रपासहितका दलहरुसंग बनेको एमाले गठबन्धन संविधान र कानुन नै भंग गर्ने दिशा तर्फ अगाडि बढेको उनको विश्लेषण छ ।

उनले पाँच दली गठबन्धनलाई भने बाम लोकतान्त्रिक शक्तिको गठबन्धन भनेका छन् । ‘अग्रगामी दिशा तर्फ लाग्ने होइन, यथास्थितिमा रहने चिन्तनबाट पनि विचलन भएको शक्ति, जसले २/२ पटक संसद विघटन ग¥यो । ६ महिना भन्दा पनि बढिसमय संसदमा गतिरोध गरायो । त्यो शक्ति र यो परिवर्तनबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत चुनौति दिने यसका विरोधीहरुसंगको उसको गठबन्धनले संविधान, गणतन्त्र र समावेशिता विरुद्ध फेरी खतराको संकेत देखिएको छ । यसलाई जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन बनेको हो र यो चुनाति ति दुई पक्षको मिलनले झन थपेको छ ’ उनले भने ।

महासचिव गुरुङले ४ मंसिरको निर्वाचन परिवर्तनका विरोधी र यथास्थिति भन्दापनि पछाडि फर्केका शक्ति र बाम–लोकतान्त्रिक परिवर्तनकारी शक्तिको बीचमा प्रतिस्पर्धा हुने बताएका छन् । देशलाई अध्यारो सुरुङ तर्फ लैजाने शक्तिलाई पराजित गर्दै प्राप्त उपलब्धिको रक्षा गर्ने शक्तिलाई नेपाली जनताले रोज्नुपर्ने उनको भनाई छ ।

महासचिव गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधान र प्रणालीलाई नै चुनौति दिएको तर्क गरे । उनले कार्यपालिका र व्यवस्थापिकाको आचित्य समाप्त पार्ने प्रयासका रुपमा राष्ट्रपतिको कदमलाई अथ्र्याए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, महानगर कमिटी अध्यक्ष हरिनारायण गिरी ‘विज्ञान’ लगायतले शुभकामना दिएका थिए । उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताका अलावा गण्डकी प्रदेशका मन्त्रीहरु र अन्य दलका नेता कार्यकर्ताको समेत उपस्थिति थियो ।

  • १५ आश्विन २०७९, शनिबार १३:०७ प्रकाशित