दसैँको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘गठबन्धन हुनु देशका लागि दुर्भाग्य’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना व्यक्त गरेका छन् । शाहले शुभकामना दिँदै गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् ।

आज एक भिडियो सन्देश मार्फत शाहले वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको शाहको भनाइ छ ।शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

उनले दलहरु पदलोप, सत्ता स्वार्थ र भागबण्डामा अल्झिएको आरोपसमेत लगाएका छन् । यो अवस्थाले जनतामा उत्साह नभएको र मुलुकमा भविष्य निर्माणको कुनै भरोसा नभएको शाहको जिकिर छ ।

शाहले भनेका छन्, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आमभावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’

पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून्, जय नेपाल ।’

  • १४ आश्विन २०७९, शुक्रबार ०९:४५ प्रकाशित