पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ दसकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय योजना आयोग समेत गठनादेशबाट चल्दै आउनु विडम्बनापूर्ण रहेको बताएका छन् । सात वटै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको भेलाबाट पारित निश्कर्षसहितको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री पोखरेलले केन्द्र र प्रदेशका योजना आयोगहरुलाई अझ सशक्त बनाउन प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको भेलाले महत्वपूर्ण निर्णयहरु गरेको धारणा राखे । भेलामा भएका निर्णय कार्यान्वयनका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाए ।
भदौ ५ र ६ गते पोखरामा भएको भेलाबाट पारित प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरुको मस्यौदा सहितको विवरण नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा। रघुराज काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका हुन् ।