काठमाडौं ।
विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।
बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले आफुलाई तराजु छोडेर हलो बोक्न कुनै लाज नहुने बताएका छन् । आफु राप्रपा प्रवेश गर्न लाग्दा कतिपयले तराजु छाडेर हलो बोक्न लाग्नुभयो भन्दै प्रश्न गरिएको भन्दै देशमा ६० प्रतिशत नेपाली जनता कृषि कर्ममा हलो बोक्ने भएकाले आफुलाई पनि तिनै किसानको हलो बोक्न कुनै लाज नहुने बताए ।
‘यो देशमा ६० प्रतिशत मानिस कृषक छन् । ६० प्रतिशत कृषक रहेको देशमा मलाई पनि हलो बोक्न कुनै लाज छैन’, मिश्रको भनाई छ । उनले आफु पार्टीमा पदको झगडा गर्न नआएको भन्दै मुलुकलाई रुपान्तरण गर्ने अठोटका साथ आएकाले परिवर्तन गरेरै छोड्ने दावी गरे ।
उक्त घोषणा अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।












