साततले दरबार पुनःनिर्माण गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो

केन्द्रभाग मिडिया

नुवाकोट ।
साततले दरबार पुन निर्माण गर्न चिनियाँ प्राविधिक टोली नेपाल आएको छ ।

सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदामा क्षति पुर्याएको थियो । सोही संरचनाको पुनःनिर्माणको लागि चिनियाँ पक्ष नेपाल आइपुगेको हो।

चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो । नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुयाँलका अनुसार करिब २० जनाको प्राविधिक (इञ्जीनियर) टोलीले साततले दरबारको जग, दरबारको गारो र छानाको वस्तुस्थिति अध्ययन अघि बढाएका छन् ।

भूकम्पले क्षति पुर्याएका संरचना पुनः निर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको कार्यालय प्रमुख फुयाँलले जानकारी दिए ।

चिनियाँ प्राविधिक टोलीको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले साततले दरबारसहित वरिपरिका पुरातात्विक महत्वका दरबार र मठमन्दिरको पहिलो चरणको सर्वेक्षण सोही समयमा गरे पनि अहिले पुनः अघि बढाएका छन् ।

  • ११ आश्विन २०७९, मंगलवार १४:२८ प्रकाशित