नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । एक वर्षपछि आज दुई देशको राष्ट्रिय टिमका बीचमा प्रतिस्पर्धा हुन लागेको हो । खेल आज साँझ साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । माल्दिभ्समा गत वर्ष भएको साफ च्याम्पियनसिपको खेलपछि यी दुई टोली एकअर्काको सामना गर्दै छन् । त्यति बेलाको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

खेलअघिको सोमबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले जित्ने रणनीतिका साथ मैदान उत्रिने बताएका छन्। एकअर्कासँग परिचित टोलीका कप्तान र प्रशिक्षकले विपक्षीलाई सम्मान दिएर खेल्ने बताएका छन्।

४ गोलकिपरसहित २३ खेलाडी समेट्दै टोलीको घोषणा गरेका प्रशिक्षक हुमागाईको आलोचना पनि भइरहेको छ। उनले ऋतिक खड्का र आशिष चौधरीलाई पहिलोपटक राष्ट्रिय टोलीमा समेटेका छन्।

अल्मुताइरीको रोजाइमा एसियन कप छनोटमा पर्न नसकेका गोलकिपर किरण चेम्जोङ मंगलबार कप्तानीकै भूमिकामा पुनरागमन गर्दै छन्। अन्य खेलाडीसँगको विवादमा किरणले अल्मुताइरीको आलोचना गर्दै किरणले सामाजिक सञ्जालमा आफ्नो विचार राखेका थिए।

त्यहींबाट उनको र अल्मुताइरीको पनि विवाद सुरु भएको थियो। किरणले आफूलाई त्यति बेला नबोलाएको नभई निकालेको भन्दै पत्रकार सम्मेलनमा आक्रोश पोखेका थिए।

एशियन कप छनोटपछि नेपाल पहिलोपटक अन्तराष्ट्रिय खेल खेल्ने तयारीमा छ। बगंलादेशले भने काम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो। कम्बोडियालाई १–० ले पराजित गर्दै आएको बगंलादेश उच्च मनोबलका साथ नेपाली टोलीविरुद्ध उत्रिनेछ । बगंलादेशको महिला टोलीले असोज ३ गते फाइनलमा नेपाललाई ३–१ ले परातिज गर्दै पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो।

बगंलादेशका पुरुष टोलीका कप्तानले पनि महिला टोलीको सोही जितको लयलाई निरन्तरता दिने लक्ष्यका साथ मंगलबारको खेलमा उत्रने बताएका छन्। उनले भने, यहाँ हाम्रो महिला टोलीले जित निकालेको थियो हामी पनि त्यही नतिजालाई दोहोर्‍याउन चाहन्छौं।

नेपाली टोलीका कप्तान किरणले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने बताए। व्यावसायिक रुपमा आई लिग टोली राउन्ड ग्लास पन्जाबमा आबद्ध आइतबार मात्रै स्वदेश आइपुगेका थिए। भारत जानुअघि उनले ३ दिन टोलीसँग अभ्यास गरेको जनाए। आफू टोलीमा नरहेपनि बाँकी खेलाडीको प्रशिक्षण राम्रो रहेको जानकारी पाएको सुनाए ।

प्रशिक्षक हुमागाईले आफूहरु जितको लागि नै मैदान उत्रने बताए। नेपाली टोलीले करिब डेढ महिनादेखि प्रशिक्षण गरिरहेको छ ।

 

  • ११ आश्विन २०७९, मंगलवार १०:०३ प्रकाशित