पोखरा ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता राजिव पहारीले २४ कास्कीकोटका गिरिगाउँ, मौला, गुन्टेचौर र रैकर सिमलचौरका कृषकलाई कुखुराका चल्ला वितरण गरेका छन् । चल्ला वितरण गर्दै पहारीले स्थानीयको जीवनस्तर उकास्न आफूले सानो प्रयास गरेको जानकारी दिए ।
आफूले सांसद रहेको अवधिमा जनाएका केही प्रतिवद्धता आफ्नो पार्टी नेतृत्वका सरकार ढलेका कारण पुरा गर्न नसकेको सुनाए । ‘एक घर एक धारा लगायतका केही योजना पुरा हुन पाएनन् । काम गतिका साथ बढेको थियो । माननीय पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारका पाला ल्याइएका योजना पछिल्लो सरकारले काटिदिएका कारण पुरा हुन नपाएको हो’ उनले भने ।
उक्त अवसरमा सात हजार ३०० गोटा कुखुराका चल्ला स्थानीयलाई वितरण गरेका अनेरास्ववियुका नेता साजन सुवेदीले जानकारी दिएका छन् । लायन्स क्लब अफ पोखरा सेन्टेनियलको सहयोगमा उक्त कुखुरा वितरण गरिएको उनले बताए ।