पोखरामा साझाका विजुली बस चलाउने तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा साझा बसका विद्युतीय बस सञ्चालनका लागि गृहकार्य अगाडि बढाइएको छ । त्यसका लागि मेयर धनराज आचार्य र पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चासो राखेको साझा बस सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए ।

नेपाल सरकारले विद्युतीय बस सञ्चालनका लागि तीन अर्व रुपैयाँ लगानी गरेको भन्दै ति बस काठमाडौं भ्यालीमा मात्र नचलाई देशका अरु ठूला सहरहरुमा समेत चलाउने उद्देश्य अनुरुप पोखरामा साझा बस सञ्चालनको गृहकार्य भएको उनको भनाई छ । ‘सरकारले विद्युतीय बस सञ्चालनका लागि तीन अर्व लगानी गरेको छ । त्यो काठमार्डौंमा सञ्चालनका लागि मात्र होइन । देशका अरु ठूला सहरहरुमा पनि चलाउने हो । पोखरामा साझा बस सञ्चालनका विषयमा पोखराको मेयर साब र पर्यटन मन्त्रीले समेत चासो राख्नु भएको छ । मेयर साब काठमाडौं आउनुभएर र हाम्रो प्राविधिक टोली पोखरा गएर एक चरण छलफल समेत भएको छ’ उनले भने ।

पोखरामा विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरिएको र तयारी अगाडि बढाइएको पोखरा १६ का वडाध्यक्ष अमृत निमिल्सिनाले जानकारी दिए ।

साझासंग प्रारम्भिक छलफल भएको र सरोकारवाला यातायात व्यवसायीसंग बसेरै सबै विषयको टुंगो लगाइने उनले बताए । उनले पोखरामा साझा बस भित्र्याउँदा यहाँको यातायात सञ्चालन मोडेल के हुने ? सेवा दिइरहेको निजी क्षेत्रको भूमिका के हुने र पोखराको यातायातको व्यवस्थापनमा कस्तोखालको गुणस्तरीय परिवर्तन ल्याउन सकिन्छ भनेर अध्ययन गर्दै अगाडि बढ्ने उनको भनाई छ ।

विद्युतीय बस सञ्चान र पूर्वाधार तयारीका लागि भने महानगरले बजेट नै छुट्याएर काम गर्ने तयारीमा रहेको उनले बताए ‘पोखरामा साझा यातायात भित्र्याउँदा यहाँ यातायात सेवा सञ्चान गर्नुभएका व्यवसायीहरुले विद्रोह गर्ने स्थिति नहोस् भनेर हामी सचेत छौं । सबैको सहकार्यमा महागर अगाडि बढ्छ । यसका लागि महानगरको यातायात व्यवस्थापन समितिमा छलफल पनि गरेका छौं’ उनले भने ।

  • विद्युतीय बस सञ्चालन सहित पूर्वाधार निर्माणमा महानगरको तीन करोड बजेट

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि सडक निर्माण बाहेक यातायात पूर्वाधार निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ । चार्जिङ स्टेशन र ट्राफिक लाइट व्यवस्थापन लगायतका पूर्वाधारमा उक्त रकम खर्च हुने महानगरको यातायात व्यवस्थापन समितिका सदस्य सचिव इ. सुरेन्द्र पौडेलले जानकारी दिए ।

यि पूर्वाधार साझा लक्षित भन्दापनि समग्र यातायातको सुधार र अझ विद्युतीय सवारीलाई प्राथमिकतामा राखेरै बन्ने उनले बताए । ‘साझा यातायात र पोखरा महानगरको बीचमा साझाका विद्युतीय सवारी सञ्चालन गर्ने विषयमा छलफल भएको छ । हामीले साझालाई भन्दापनि विद्युतीय सवारी साधन सञ्चालनलाई प्राथमिकता दिने नीति लिएका छौं, जसको सवारी सञ्चालकहरुले फाइदा लिन सक्नुहुनेछ’ उनले भने ।

इ. पौडेलका अनुसार साझा यातायातले सुरुमा ६ वटा विद्युतीय बस मार्फत सेवा दिन चाहेको छ । महानगरले नै यहाँका व्यवसायीहरुसंग समेत बसेर निर्धाण गर्ने रुटमा सेवा दिन साझा तयार रहेको उनले जानकारी दिए । ‘उहाँहरु (सझा यातायात)ले सुरुमा ६ वटा विद्युतीय बस मार्फत सेवा दिने प्रस्ताव गर्नुभएको छ ।

हामीले नै यहाँका सरोकारवालाहरुसंग बसेर रुट निर्धारण गर्ने हो । विद्युतीय बस सञ्चालन गर्ने भनेपछि चार्जिङ स्टेसन निर्माण लगायतका पूर्वाधार पनि बनाउनुपर्ने छ ।’ उनले भने ।

  • १० आश्विन २०७९, सोमबार १३:५१ प्रकाशित