गण्डकीमा ६०४ जनामा डेंगु, मनाङमा पनि भेटिए डेंगुका बिरामी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा ६०४ जनामा डेंगु रोकको संक्रमण पुष्टि भएको छ । आइतबार पोखरामा भएको डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंगको अन्तरक्रिया कायक्रममा सो जानकारी दिइएको हो । प्रदेशमा डेंगुका कारण दुइजनाको निधन भएको छ । निधन हुने दुवै जना गोरखाका रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण हुनेका कास्कीका सबै भन्दा धेरै छन् । असोज ८ गतेको तथ्याङक अनुसार कास्कीका १३६ जनामा डेंगु पुष्टि भएको छ । यस्तै गोरखामा ११३ तनुहमा ७८, स्याङ्जामा ७३, पर्वतमा ६९, लमजुङमा ६२, बागलुङमा ३९, म्याग्दीमा १५, नवलपुरमा १५ र मनाङमा २ जना डेंगुका बिरामी भेटिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका डा. नारायण श्रेष्ठले पछिल्लो समय डेंगुका बिरामी थपिएको बताए ।

चिसो मौसमा लामखुट्ट् सक्रिय नहुने भए पछि पछिल्लो समय हिमाली भेगका समेत डेंगुका बिरामी भेटिन थालेका छन् ।
डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट जोगिनु पर्ने डा. श्रेष्ठले बताए । डेंगु नियन्त्रणका लागि प्रदेशका ८५ वटै स्थानीय तहमा डेंगु नियन्त्रणका लागि संयुक्त प्रयास भइरहेको निर्देशनालयले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रराज आचार्यले पछिल्लो हप्ता डेंगुका बिरामी केही कम देखिएको जानकारी दिए । तर पनि डेंगु नियन्त्रण र रोकथामका प्रयासलाई भने निरन्तरता दिनुपर्ने आचार्यले बताए ।

आचार्यले जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले आफ्नो घर वरपरको वातावरण सफा राख्न आग्रह गरे ।

  • ९ आश्विन २०७९, आईतवार १८:३७ प्रकाशित