बौद्ध अर्घौ सदनको ४५ औं वार्षिक साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा, ८ असोज
पोखरा १० रामघाट स्थित बौद्ध अर्घौं सदनको ४५ औं वार्षिक साधारणभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१० का वडाध्यक्ष राजेश गुरुङले उद्घाटन गर्दै धर्मनिरपेक्ष मुलुकमा अझै पनि हिन्दुत्वको व्यवहार रहेकाले बुद्धिष्ट संस्था र समुदायगत समाजहरुले सहयोग पाएका छैनन्, हामी वडा नं.१० सबैलाई सहयोग गर्न तयार छौं भनेका छौं ।

आफुले बौद्ध धर्मको मुल्य मान्यतालाई आत्मसाथ गर्दै आइरहेकाले बौद्ध अर्घौ सदनलाई साथ सहयोग गर्नुपर्ने अवस्थामा सधै सहयोग गर्न तयार रहेको वडाध्यक्ष गुरुङको भनाई छ ।  कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष एवम बौद्ध अर्घौ सदनका सल्लाहकार हुमबहादुर गुरुङ, सदनका सल्लाहकार अध्यक्ष क्या.मनबहादुर गुरुङ, सदनस्थित बौद्ध शिक्षा अध्ययन केन्द्रका प्रमुख खेन्पो सन्तोष गुरुङ, ९१ वर्षिय बयोबृद्ध लामा दानप्रसाद गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभामा बौद्ध अर्घौ सदनका सचिव मोतिप्रसाद गुरुङले प्रस्तुत गरेकोे बार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिलबहादुर गुरुङले प्रस्तुत गरेकोे आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

कार्यक्रममा बौद्ध अर्घौ सदनलाई आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो। बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिं गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ र मोतिप्रसाद गुरुङ लगायतले बोलेका थिए भने लामा गुरुहरुले अष्टमंगल पाठ गरेका थिए ।

  • ८ आश्विन २०७९, शनिबार २०:२४ प्रकाशित