पोखराका दुई अलग ठाउँमा एटीएम फोरेर पैसा चोर्ने तीन जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराका दुई अलग ठाउँमा एटीएम मेशिन फेडेर पैसा निकाल्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा १६ का २२ वर्षीय सन्दिप बस्नेत, १९ वर्षीय अनिस राना मगर र धादिङ त्रिपुरा सुन्दरी १ घर भई हाल पोखरा ८ बगालेटोल बस्ने २५ वर्षीय मनोज कुमाल एटीएम फोर्दै गरेको र भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार बस्नेत र मगरले सोमबार दिउँसो ४ः१५ बजेको समयमा पोखरा ९ नयाँ बजारमा रहेको कृषि विकास बैकको एटीएम मेशिन फोरी नगद रुपैयाँ चोरी गर्दै गर्दा पक्राउ परेका हुन् । बस्नेत चोरी गरेकै ठाउँमा र मगर भाग्दै गर्दा पक्राउ परेका हुन् ।

मनोज कुमाललाई प्रहरीले पोखराको लेकसाइडमा सोमबार दिउँसो २ बजे एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । कुमालले खुकुरीको प्रयोग गरेर एटीएम फोर्दै गर्दा पक्राउ गरिएका प्रहरी नायव उपरीक्षक तिवारीले बताए ।

उनका अनुसार पक्राउ परेका तीन जनालाई नै कास्की जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

  • ४ आश्विन २०७९, मंगलवार १९:४० प्रकाशित