सन्दिपलाई खोज्न रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

बलात्कारको आरोप लागेका नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु गरेको छ । प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु गरेको हो ।

नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ । त्यही आधारमा उनको खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाइएको हो । यो नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका एक उच्च अधिकृतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको हो ।

लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो राति उनले काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा लगेर १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ ।

  • ४ आश्विन २०७९, मंगलवार ०९:४३ प्रकाशित