काठमाण्डौ ।
नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् । २०७४ सालको प्रतिनिधि सभा चुनावमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसदसमेत रहनुभएका नेता श्रेष्ठले आउँदो मङ्सिर ४ गते हुने निर्वाचनमा त्यो क्षेत्र कांग्रेस नेता पौडेललाई छोडिदिने बताए ।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले गठबन्धनमा भागबन्डा मिलाउनुपर्ने कारणले गर्दा त्यो क्षेत्र आफूले छोड्नुपरेको बताए । आफू बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने पनि उनले बताए ।
उनले भने, ‘म तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित भएको हुँ । तर अहिले गठबन्धनको कारणले, गठबन्धन र मेरो पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीको कारणले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छोड्न तयार छु । तनहुँ १ नम्बर क्षेत्रकै कारणले मात्रै गठबन्धन नै भत्किन्छ या एकदमै ठूलो समस्या आउँछ भने म पार्टीले गरेको निर्देशन, पार्टीले गरेको निर्णय मान्न तयार छु ।’
नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिए पनि आफूले चुनाव जित्ने आँट र साहस लिएर अगाडि बढेको बताए ।












