पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले धाँधली गर्नकै लागि सत्तामा बसेर चुनाव गराउने गरेको अरोप लगाएका छन् ।
पोखरामा मंगलबार लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गदै उनले यस्तो आरोप लगाएका हुन् । ‘कांग्रेसले आफू सत्तामा नभए अरुलाई निर्वाचन गर्न दिँदैन । देशमा अतंक भएको बेला छुट्टै परिस्थिति बाहेक अरुले निर्वाचन गराउन पाएको छैन । धाँदली गर्नकै लागि कांग्रेसले यसो गरेको हो’ उनले भने ।
सरकारले कतै धाँदली गरे त्यसलाई रोक्ने काम एमालेका कार्यकर्ताको काँधमा आएको उनको भनाई छ । ‘मगर, युवा, विद्यार्थी, महिला संघ र यत्रो एमालेको पंक्ति हुँदा हुँदै कसैले बुथ कब्जा गर्छ भने त्यो हाम्रो कम्जोरी हुने छ’ उनले भने ।
सत्ता गठबन्धनले आउने चुनावमा बुथ कब्जा गर्ने योजना बनाएको उनको दाबी छ । कुन–कुन जिल्लाका कुन बुथ कब्जा गर्ने योजना बनेको छ भन्ने जानकारीसमेत आफूसँग रहेको उनले दाबी गरे। ‘गठबन्धनले मान्छे कुट्ने, काट्ने, मार्ने, थुनाउने र बुथ कब्जा गर्ने योजना बनाएको छ । म सरकारको ध्यानाकर्षण गराउँछु र प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्छु’ पूर्व प्रधानमन्त्री ओलीले भने ।
अध्यक्ष ओलीले गठबन्धनले अहिले एसपीपी सम्झौता जनता भड्किन्छन् भनेर रोकेपनि चुनावपछि एसपीपीजस्तै राष्ट्रघात गर्ने तयारी रहेको आरोपसमेत लगाएका छन् ।













