रक्सी खाएर दुख दिएको भन्दै श्रीमतीको हत्या

केन्द्रभाग मिडिया

काठमाडौँ ।
ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । सो शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ ।

ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या गरेको आरोपमा प्रहरीले उनका पति घ्याल्मो लामालाई पक्राउ गरेको छ । ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले पत्रकार सम्मेलन गरेर रुपालाई उनकै पति घ्याल्मो लामाले हत्या गरेर जंगलमा फालेको जानकारी दिए । ६३ वर्षीय घ्याल्मो दोलखाको भिमेश्वर नगरपालिका–९ का स्थानीय हुन् ।

‘लगातारको घर झगडाले हत्याको रूप लिएको देखिन्छ’ एसएसपी पोखरेल भन्छन्–‘हत्याबारे थप अनुसन्धान हुँदै छ ।’

घ्याल्मोकी तेस्री पत्नी हुन्, रुपा क्षेत्री । रुपाले दैनिक मदिरा सेवन गरेर झगडा गरेर हैरानी दिएको हुनाले हत्या गरेको आरोपीले प्रहरीलाई बताएका छन् । भदौ १६ मा मदिरा सेवन गरेकी पत्नीले झगडा गर्न थालेपछि उनले फकाएर गोदावरीतिर लगे । गोदावरीमा बुद्ध धर्म मान्नेहरूले बाँसमा टाँगेको धजाको डोरी चुँडालेर पत्नीसँगै हिँडिरहे । गोदावरी चोकबाट करिब ४ किलोमिटर पर जंगलमा पुगेपछि घाँटीमा डोरीले कसेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

घ्याल्मोलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी पोखरेलले जानकारी दिए ।

  • २८ भाद्र २०७९, मंगलवार ०७:४० प्रकाशित