पोखरा ।
नेपाली कांग्रेस मनाङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का लागि राजीव गुरुङ (दीपक मनाङे) लाई समर्थन गर्ने भएको छ। गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारका खेलकुद मन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय भएको नेपाली कांग्रेस मनाङले जनाएको छ।
मनाङमा निर्वाचन क्षेत्र नं ‘ख’मा स्वतन्त्र उम्मेदवारको रुपमा राजीव गुरुङलाई समर्थन गर्ने निर्णय भएको जिल्ला सभापति शंकर गुरुङले जानकारी दिएका छन्। त्यस्तै नेपाली कांग्रेस मनाङले प्रतिनिधि सभामा प्रत्यक्षमा केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ। यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्यूङ गुरुङ (कर्मा) लाई सिफारिस गरिएको छ।
प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र (क) बाट भने कांग्रेसले प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फको उम्मेदारका लागि सिफारिस हुनेहरुमा पार्टी महासमिति सदस्य साङदो लामा, जिल्ला उपसभापती चन्द्र घले, क्षेत्रीय सभापति छिरिङ घ्याल्पो लामा र प्रदेश अधिवेशन प्रतिनिधि मुनिन्द्रजङ गुरुङ रहेका छन्। प्रदेश सभा निर्वाचन क्षेत्र (क) का लागि समानुपातिकतर्फ जिल्ला सचिव महेन्द्र घले सर्वसम्मत सिफारिस भएका छन्।